प्रदेश २समाचार

नारायणी अस्पतालको चरम लापरवाहीका कारण एक युवकको मृत्यु

Nepal Akhabar

इरफान अली,वीरगञ्ज  । नारायणी अस्पतालका चिकित्सकको चरम लापरवाहीका कारण एक युवकको मृत्यु भएको छ । उपचारका लागि नारायणी अस्पताल पुगेका बाराका विक्रम चौधरीको चिकित्सकहरुको गम्भीर लापरवाहीकै कारण मृत्यु भएको उनका परिवार स्रोतले बताएको छ ।
विक्रम चौधरीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उपचारका लागि यही भदौ २१ गते (आइतबार) करिब ११ बजे नारायणी अस्पतालको अकास्मिक उपचार कक्षमा लगिएको थियो ।
 
उनको थप उपचारका लागि अस्पतालले आईसीयूमा ४ बजे बेलुका भर्ना गरिएपनि ७ बजेसम्म कुनै किसिमको उपचार नभएको मृतकका दाई अनिल कुमार चौधरीले बताए ।
यस विषयमा चिकित्सकहरुको चरम लापरवाही भएको पुष्टि हुन बाँकी नै रहेको बताइएको छ । ‘उपचारका लागि आइतबार ११ बजे नारायणी अस्पताल पुगेका थियौँ । अस्पतालले आईसीयूमा भर्ना गरेपनि कुनै किसिमको हेरचाह तथा समान्य उपचार समेत गरिएन’, मृतकका दाई अनिल कुमार चौधरीले भने ।

प्राप्त प्रमाण अनुसार, नारायणी अस्पतालमा चरम लापरवाही भएको आँकलन गर्न सकिन्छ । चौधरीको स्वाव २१ गते नै संकलन गरिएको थियो तर, रिपार्टमा भने २३ गते उल्लेख गरिएको पाइएको छ ।
निजका परिवारले उनको न्यायको माग गरेका छन् । साथै यस घटनाको निष्पक्ष छानविन तथा दोषीलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन समेत पेश गरिएको छ ।

निवेदनमा ‘विक्रम चौधरीले उपचार नपाएकै कारणले अकालमै ज्यान गुमाउनु परेको र सम्बन्धित स्वाथ्यकर्मीहरुमाथि छानविन तथा कारवाहीका लागि माग गर्दछौँ’ उल्लेख गरिएको छ ।
निवेदन परेसँगै जिल्ला प्रशासन कार्यालय, पर्साले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंमा भदौ २२ गते सोमबारनै पत्र पठाएको छ । साथै, छानविनका लागि नारायणी अस्पतालले पनि चिकित्सकहरुको ३ सदस्यीय छानवीन समिति गठन गरेको छ ।

उक्त छानविन समितिको प्रतिवेदनमा दोषी ठहरिएमा दोषीलाई कारवाही गर्नुका साथै पीडित पक्षलाई उचित क्षतिपूर्ति व्यहोर्ने जनाएको छ ।

the authoradmin

Leave a Reply