अर्थप्रदेश २समाचारसमाजहाइलाइट-समाचार

भूकम्पका बेला आएकाे करोडौंको जस्तापाता साढे ४ वर्षदेखि अलपत्र

Nepal Akhabar

भूकम्पबाट क्षतिग्रस्त सरकारी विद्यालय पुनर्निर्माणका लागि सरकारले भारतबाट आयात गरेको करौडौ मूल्य बराबरको जस्तापातामा खिया लागेको छ।

नेपाल सरकारको निर्देशनमा साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको कोलकतास्थित जिन्दल कम्पनीबाट आयात गरेको २६ करोड ६ लाख मूल्य बराबरको ३० लाख २२ हजार ६ सय ६२ केजी जस्तापाता वीरगन्जमा साढे चार वर्षदेखि अलपत्र छ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार २०७२ साल साउन ६ देखि २० गतेसम्मको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट वीरगञ्ज नाका हुँदै ५० हजार बण्डलमा रहेको ३० लाख २० हजार ६ सय ६२ केजी जस्तापाता आयात गरेको थियो।

खुल्ला चौरमा राखिएको करोडौंको जस्तापाता खिया लागेर नष्ट हुँदै गए पनि सम्वन्धित निकायले त्यस बारेमा अहिलेसम्म चासो दिएको छैन। खुल्ला चौरमा राखिएको जस्तापाता ढाक्न प्रयोग गरिएको त्रिपाल धेरै समय भएकाले घामपानीका कारण सडेर ठाउँ ठाउँमा च्यातिएको छ।

वर्षाको पानी जस्तापाताका बण्डलहरुमा पसेकाले खिया लागेर नष्ट हुँदै गएको खाद्य संस्थान वीरगन्जका प्रमुख नरनाथ अधिकारीले बताए। उनले भने, ‘बण्डल खोलेर हेर्ने हो भने आधा भन्दा बढी जस्तापाता खिया लागेर कामै नलाग्ने अवस्थामा भेटिन्छ।’

सरकारकै निर्देशनमा साल्ट ट्रेडिङ कर्पोरेसनले २५ करोड भन्दा बढी मूल्यको जस्तापाता विद्यालय पुनर्निर्माणका लागि मगाएको कर्पोरेसन वीरगन्जका सुचना अधिकारी यादव भट्टराईले बताए। ‘जस्ता मगाई सकेपछि भने मन्त्रालयबाट कुनै निर्देशन आएन, त्यसैले जस्तापाता कतै पठाउन नसकिएको हो’ उनले भने।

कर्पोरेसन आफैले अब जस्तापाता लिलाम गरी लागत उठाउने तयारी गरेको छ। बिक्रीकै लागि २०७४ माघ १४ गते पहिलो पटक खुला टेन्डर आह्वान गरिएको थियो। तर एउटा पनि आवेदन नपर्दा दोस्रो पटक फेरि २०७५ साल जेठ ९ गते अर्को टेन्डर आह्वान गरिएको थियो। त्यतिबेला पनि कसैले इच्छा देखाएनन्।

याे खबर सेताेपाटी डटकमबाट सभार गरिएकाे हाे ।

the authoradmin

Leave a Reply