एक महिलासहित ६ जनाको शव भेटियो

नेपाल अखबार, काठमाडौं । मुलुकको विभिन्न स्थानमा एक युवतीसहित ६ जनाको शव फेला परेका छन् ।

ललितपुर, नवलपरासी, गोरखा, झापा र सोलुखुम्बुमा गरी ६ जनाको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–९ स्थित गुह्येपोखरीमा उदयपुरको कटारी घर भई बालकुमारी बस्दै आएका ३३ वर्षीय हरि खड्का मृत फेला परेका हुन् ।यस्तै ललितपुर महानगरपालिका–२५ नख्खुस्थित नख्खुखोला किनारमा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेजपुल स्थित ३२ नम्बर ढोकामा परिचय खुल्न नसकेकी अन्दाजी २० वर्षीया युवतीको शव फेला परेको छ ।

यस्तै गोरखाको गोरखा नगरपालिका–१० टक्सार घर भएका ५० वर्षीय श्यामहरि घिमिरे घरनजिकैको झाडीमा मृत फेला परेका छन् ।

यस्तै झापाको विर्तामोड नगरपालिका–७ का ४८ वर्षीय शशी शिवाकोटी पनि मृत फेला परेको प्रहरीले जनाएको छ । शिवाकोटी विर्तामोड नगरपालिका–४ स्थित द्वारिका होटलमा काम गर्ने मजदुर थिए ।

यस्तै सोलुखुम्बुको माप्ये दुधकोसी गाउँपालिका–७ शिवुचेस्थित जंगलमा महाकुलुङ गाउँपालिका–१ का २० वर्षीय शुक्रकुमार राई मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *