दुर्घटना

निरन्तरको वर्षाले चुनबाङमा बग्यो बसपार्क

Nepal Akhabar

नेपाल अखबार, रूकुम। निरन्तर परेको वर्षाका कारण रुकुम (पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौंको क्षति भएको छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ । बाढीले चुनबाङको एक मात्र बसपार्क बगाएको छ । बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । उनका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई  घट्ट र एउटा गुम्टी पसल बगेका छन् ।
लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए ।
स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ ।
चुनबाङमा दाङबाट मात्र सीधा गाडी चल्छ । बसपार्क नै बाढीले बगाएपछि चुनबाङमा अहिले पार्किङका लागि अर्को कुनै क्षेत्र नभएको वडाध्यक्ष पुनले बताए ।  शुक्रबारदेखि परेको वर्षाका कारण शनिबार साँझसम्म पनि खोलामा पानीको बहाब नघटेपछि डोजर लगाएर खोला फर्काउने काम भइरहेको वडाध्यक्ष पुनले जानकारी दिए । बाढीकै कारण गैरीगाउँका केही घर जोखिममा परेको वडा कार्यालयले जनाएको छ । वर्षा शुरु नहुँदै बस्ती नजीकैको खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् । रासस

the authoradmin

Leave a Reply