कृषिसमाज

पोखरामा रोपाइँ महोत्सव भएन

Nepal Akhabar

नेपाल अखबार, पोखरा । धान रोपाइँ हुने असार महिनामा कसरी पर्यटकलाई आकर्षित गर्न सकिएला ? पोखराका पर्यटन व्यवसायीले जुक्ति निकाले, ‘रोपाइँसँग पर्यटनलाई जोडेर इभेन्ट गर्न ’ सुरू भयाे ।
यो आजभन्दा १७ वर्षअघिको कुरा थियो । १५ असार अर्थात धान दिवसलाई पर्यटनसँग जोडेर हिलो खेल्ने लगायतका कार्यक्रम निधो पर्यटन परिषद पोखराले गर्‍यो । पोखराका पर्यटनसँग सम्बन्धित संस्था परिषदमा आवद्ध छन् ।
असार १५ को संस्कृतिसँग जोडेर विभिन्न इभेन्ट राख्न सकियो भने यसले पर्यटन क्षेत्रमा थप टेवा पुग्छ भनेर रोपाइँ महोत्सव गर्ने परिकल्पना गरेका थियौं,’ परिषदका तत्कालीन अध्यक्ष डम्बर केसीले भने, ‘पछिपछि रोपाइँ महोत्सव यसरी ब्रान्डिङ हुँदै जान थाल्यो कि पर्यटकहरु यसकै लागि भनेर आउन थाले ।’
संस्कृति र प्रकृतिलाई जोड्न सकियो भने थप पर्यटक आउँछन् भन्ने विश्वासमा पहिलो पटक बिरौटा फाँटदेखि रोपाईं महोत्सव सुरु भएको थियो । पोखरामा रहेका पर्यटकलाई व्यवसायीले भनेर हिलो खेल्न, माछा समाउन लगाउतका इभेन्टमा सामेल गराउन लिएर गएका थिए ।
‘बिरौटा फाँटमा ४/५ हल गोरु नारिएका थिए । हिलो खेल्ने, माछा समाउने, हिले दौड गर्ने र दही चिउरामा रमाउन खेतमा गोरा छाला देख्दा किसान पनि छक्क परेका थिए,’ केसीले रोपाइँ महोत्सवको सुरुवाती वर्ष सम्झे, ‘पछि पछि कहाँको पर्यटकहरु वर्षैंपिच्छे यही महोत्सवका लागि आउन थाले, रोपाइँ महोत्सव पोखराकै एउटा ब्राण्ड बन्न थाल्याे ।’
विदेशी पर्यटक हिलो छ्यापाछ्याप गरेर रमाउँथे । असार १५ मा हिलो छुनुपर्ने समाजिक मान्यतालाई पोखराले उत्सवको रुपमा मनाउँदै आएको थियो ।
गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, दही चिउरा खानेको भीड लाग्थ्यो पोखरामा ।
कुँडहर फाँड, बिरौटा फाँट, महतगौंडा, लामाचौर, पामे, ठूला खेत, विरुवा फाँट, शिशुवा, ठूलीबेसी, फेवा फाँट लगायतका पोखराका वभिन्न फाँटमा तामझामसहित पर्यटन परिषदको संयोजनमै वर्षैपिच्चे हुँदै आएको थियो ।
किसानलाई यसपटक पनि धान रोप्न भ्याइनभ्याइ छ तर पोखरामा रोपाइँ महोत्सवको त्यो रौनक भने छैन । कोरोना भाइरस कोभिड–१९ का कारण पर्यटन क्षेत्र चकमन्न छन् । संकटले पर्यटन क्षेत्र टाट पल्टिन लागेको भन्दै व्यवसायी चिन्तित् छन् ।
‘पोखरामा यसपटक न पर्यटनक छन्, न यही इभेन्टलाई भनेर पर्यटन आउने अवस्था रह्यो, न पर्यटन क्षेत्र उत्सव मनाउन सक्यो,’ पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘कोभिड–१९ ले सबैतिर डर छरिरहेका बेला के हिलो खेल्नु, के रमाउनु ?’ सबै सुरक्षित रहनु  पर्ने बेलामा ।
१७ वर्षपछि कोरोनाकै कारण पोखरामा निजीस्तरबाट रोपाइँ महोत्सव हुन सकेन । कोभिड–१९ का कारण महोत्सव गर्दा जोखिम पनि बढ्ने, पर्यटक पनि नभएको र पर्यटन क्षेत्र पनि संकटमा रहेकाले यो वर्ष उत्सव मनाउने अवस्था नरहेको परिषद अध्यक्ष पोखरेलले जानकारी  दिए ।
गएको वर्ष करिब १५ हजारभन्दा बढीले रोपाइँ महोत्सवमा सहभागिता जनाएका थिए । रोपाइँ महोत्सवकै लागि भनेर अमेरिकाको रोट्रेडम युनिभर्सिटीबाट प्रत्येक साल आउने गरेका थिए ।
यसपटक कोभिड–१९ ले थला पारेकोले पर्यटन क्षेत्रमा रौनक हराएको रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए ।
पोखराका विभिन्न फाँटहरुमा आज पनि रोपाइँ चलिरहेको पोखरा महानगरका कृषि विकास महाशाखा प्रमुख वागवानी अधिकृत मनोहर कडरियाले जानकारी दिए ।
‘अधिकांश क्षेत्र कोभिड–१९ ले अस्तव्यस्त छ । तर, कृषि क्षेत्र अझ बढी चलायमान छ,’ कडरियाले भने, ‘सहरका छेउछाउ र गाउँहरुमा रोपाइँ भइरहेको छ ।’
उनका अनुसारामा करिब ४० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ ।
 

the authoradmin

Leave a Reply