दूधेबच्चा काखी च्यापेर खाद्य डिपो पुगेका स्थानीयले चामल पाएनन्

नेपाल अखबार, बाजुरा । बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँकी ललिता बोहरा १० महिनाकी छोरी काखी च्यापेर दुई दिन हिँडेपछि कवाडी डिपो पुगिन्न् । तर, डिपोले चामल छैन भनेपछि उनको अनुहार अमिलियो ।

‘घरमा श्रीमान् छैनन्, गाईबस्तु लिएर लेकतिर गएका छन् । नौजनाको परिवार मेरो जिम्मामा छ,’ ललिताले व्यथा सुनाइन्, ‘गाउँको सहकारीबाट ऋण गरेर चामल किन्न आएँ, तर डिपोमा रहेनछ ।’ स्थानीय बजारबाट प्रतिकेजी ८५ रुपैयाँका दरले थोरै चामल किनेर ललिता घर फर्किइन् ।

कवाडी डिपोमा दुई महिनायता चामल नहुँदा गाउँमा खाद्य संकट नै भएको छ । ललिताकी छिमेकी कोपिला बोहरा पनि डेढ वर्षकी छोरी बोकेर चामल किन्न पुगिन्न् । तर, डिपोमा चामल नपाउँदा उनी निराशसँगै आक्रोशित पनि थिइन्न् ।

गाउँका पुरुष कोही कामका लागि भारत त कोही गाईबस्तु लिएर लेकतिर गएपछि महिला नै चामलको खोजीमा कवाडी डिपो पुग्छन्न् । तर, चामल नपाइने गरेको हिमाली गाउँपालिका–३ का अध्यक्ष ध्यानबहादुर रोकायाले बताए ।

यो बाजुराको सबैभन्दा बढी खाद्य संकट हुने र सडकभन्दा टाढा रहेको हिमाली गाउँपालिका हो । अघिल्लो वर्ष यस डिपोमा पाँच हजार क्विन्टल चामल आएको थियो । तर, असारयता चामल नआएपछि गाउँमा खाद्य संकट भएको स्थानीय पर्वलाल बुडथापाले बताए ।

दसैंसम्म चामल नआए चरम खाद्य संकट हुने उनको भनाइ छ । ‘बालबच्चा बोकेरै वर्षात्को समयमा जोखिम मोलेर चामल किन्न डिपोमा पुग्यौँ, तर चामल छैन,’ स्थानीय नानी बोहराले भनिन्, ‘सरकारले नै नहेरेपछि जनताको वास्ता कसले गर्छ ?’

हिमाली गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा चार हजार जनसंख्या छ । यी वडाका सबै घरमा खाद्य संकट भएको अर्जुन रोकायाले बताए । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने उनले बताए । हिमाली गाउँपालिकाका दुर्गम गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *